कृषि र पशुपालन: स्वतन्त्रता, स्वास्थ्य र स्वावलम्बनको आधार

१५ आषाढ़, २०८३, सोमवार
सारांश
  • खाने कुरामासम्म आत्मनिर्भर नहुने देश कहिल्यै स्वतन्त्र रहन सक्तैन । अत: कृषक र कृषिको महत्त्व सानैदेखि बुझाउन र सिकाउन अत्यावश्यक छ ।

सुवर्णरौप्यमाणिक्यवसनैरपि पूरिताः ।
तथापि प्रार्थयन्त्येव कृषकान् भक्ततृष्णया ॥ 
—कृषिपराशर
सुन, चाँदि, हीरामोति र अनेक महङ्गा लुगाले ढाकिएका धनी मानिस पनि भोक लागेपछि अन्न नै चाहिने हुनाले कृषकको नै प्रार्थना गर्न थाल्छन् ॥

 

अन्न र पानी जीवनका आधार हुन् । कृषि पशुपालन र बन्दबेपार(वाणिज्य) गर्ने वैश्यहरु सर्वाधिक सम्पन्न हुने तर तिनले कसैलाई धनले किनेर  नियन्त्रणमा लिन नसक्ने अनि ठगेर कालो धन थुपार्न भने नपाउने व्यवस्था भएको हाम्रो प्राचीन समाज सबैले शारीरिक परिश्रम कुनै न कुनै प्रकारले गर्ने तथा एक आर्कामा सद्भाव राखेर बाँच्ने पद्धतिले गर्दा सुव्यवस्थित सुखी र शाान्त थियो ।

 

स्वतन्त्र कृषक र कृषिमाथिको आक्रमण गर्न कृषि शिक्षा व्यापक बनाउने, कृषकहरुको जीवन सहज र सम्मानित बनाउने, तिनका समस्या प्राथमिकताका साथ समाधान गर्ने, विद्यालयहरुमा नियमित रूपमा कृषकहरुले शिक्षा दिने वातावरण बनाउने जस्ता कार्य गर्नुको सट्टा कथित आधुनिक शिक्षाको नाममा जताततै कृषकको जीवन कठिन बनाउँदै हीन भावना आउने परिस्थिति बनाइएको छ।  कैले यो कृषि कर्म छोड्न सकिएला भन्ने मानसिकता व्यापक बनेको कुरा अलिकति पनि गहिरिएर हेर्ने कसैबाट लुकेको छैन।

 

मुखले जे जे भने पनि  कृषकका सन्तानहरुलाई सन्तुलित रूपमा सैद्धान्तिक र व्यावहारिक शिक्षा दिनुका सट्टा कृषिबाट विमुख बनाउन पढे लेखेर शारीरिक परिश्रम नगर्ने हुनु नै ठुलो माञ्छे बन्नु हो भन्ने कुशिक्षा दिनभर “कक्षा कोठा”मा राखेर जीवनमा  काम नलाग्ने कुरा घोकाएर केवल अल्छी र लोभी अनि माटोको माया नगर्ने मात्र हैन माटोको महत्त्व के छ र भन्ने बनाएर बराल्ने काम निरन्तर दशकौँदेखि बढ्दो रूपमा गरिएको कृषक हुनुमा गौरव गर्नसक्ने अवस्था समाप्त पारेर  खाद्यान्नमा आत्मनिर्भर हुन नदिने र स्वस्थ हुन पनि नदिने षड्यन्त्रको पाटो हो। । खेतिपातिमा रुचि भएकाहरुले थोरै ठाउँ भए पनि आफ्नै बारिमा तरकारी फलाएर विषादिको शङ्का नभएका ताजा तरकारी खान पाएको तर माटोसित नै डराउनेले आफ्नो धेरै जमिन भएपनि घरको नजीक फोहोर हुन नदिने भन्दै ढुङ्गा वा सिमेण्टले छोपेर “सफा” बनाइ विषाक्त सागपात कुरा खान बाध्य भएको देखिञ्छ।   

 

मुखले "कृषि प्रधान देश" भनेर पनि कृषि शिक्षा अनिवार्य गर्ने र व्यापक रूपमा सिक्ने सिकाउने व्यवस्था नगर्नु र उल्टो विदेसी भाषामा घोकन्ते प्रायोजित "शिक्षा" फैलाउनु आफ्ना हजारौँ स्थानीय जातका गुणकारी बीउ अनि पशुपञ्छी एकै छिनको भुलभुलैयामा "उन्नत प्रविधि र उन्नत जात" का भ्रम बाँडेर नष्ट पार्दै जनतालाई मूर्ख बनाउनुको कारण बुझ्न ढीलो गरेमा नेपालीहरुको दुर्गति रोक्न सकिन्न।  

 

खाने कुरामासम्म आत्मनिर्भर नहुने देश कहिल्यै स्वतन्त्र रहन सक्तैन ।अत:  कृषक र कृषिको महत्त्व सानैदेखि बुझाउन र सिकाउन अत्यावश्यक छ ।  जथाभाबी बिषादिको प्रयोगबाट जनतामा विभिन्न रोग लाग्नु पनि कृषि र कृषकलाई हेप्ने पशुपालनमाभन्दा आयातित रासायनिक मल र विषमा निर्भर बनाउने स्वावलम्बनविरुद्धको प्रवृत्तिकै उपज हो। देशको आर्थिक अवस्था सुधार गरी सम्पन्न समाज निर्माण गर्न परम्परागत रूपमा कृषिपेशा गर्ने समुदायले आफ्ना सन्तान  कृषिमा नलागुन्  बरु विदेसमा नोकर बनुन् भन्नुपर्ने वातावरण परिवर्तन गरी कृषिकार्यको र कृषकको सम्मान र समृद्धि बढाउन अत्यावश्यक छ । “कृषिमूलञ्च जीवनम्” भनेर हाम्रा पुर्खाले कृषिलाई ठुलो महत्त्व दिएका थिए र अरु जुनसुकै काम गर्नेले पनि कृषिको महत्त्व बुझ्ने वातावरण थियो। वर्तमानमा शिक्षाका नाममा कृषिको महत्त्व बुझाउनेभन्दा उल्टो कृषि भनेको निम्नस्तरको कार्य हो भन्ने कुरा हिलो माटो गोबर जस्ता हाम्रा पुर्खाले नित्य खेलेर आएका वस्तुसित डराउने बनाएर कुटो, कोदालो चलाउनु “असभ्य”वा पिछडिएको हो भनेजस्तो सिकाएर प्रमाणित गर्न खोजिएको अवस्था छ । 

 

“शिक्षा”का  नाममा  जीवनमा काम नलाग्ने वा काम लाग्ने भए पनि प्रयोग गर्न नसक्ने गरेर र  हानिकारक असत्य कुरा सत्य भनेर सिकाउनमा समेत बालबालिकाको समय नष्ट गरी परिश्रमको महत्त्व बुझ्न नदिने तथा मानसिक तथा शारीरिक रूपमा स्वस्थ हुन पनि नदिई नियन्त्रित रूपमा बाँच्न सजीलै मान्ने व्यक्ति उत्पादन गर्ने कार्यमा जनताले गास कटाएर तिरेको करको अत्यन्त अनैतिक रूपमा दुरुपयोग गरिएको छ।  १० वर्ष गणित पढाइँदा पनि सामान्य जोड, घटाउ, गुणन भाग गर्न नसकी साना अङ्क जोड्न पनि  “क्याल्कुलेटर्” थिच्ने पुस्ता  बनेको हाम्रो अगाडि नै हुँदा पनि शिक्षाको नाममा के गरिएको हो भनेर बुझ्न आनाकानी गर्नु सामान्य मान्न सकिन्न । उच्च शिक्षामा कृषि पढ्नेले समेत हाम्रा मौलिक प्रविधि तथा कृषिका प्राचीन ग्रन्थ ( काश्यपीय कृषिपद्धति, कृषिपराशर इत्यादि) पनि छन् भनेरसमेत जान्न नपाउने स्वावलम्बनको विरुद्धको अवस्था छ ।   “किसानका छोराछोरी डाक्टर इञ्जिनीयर वा “उच्च” सरकारी अधिकारी बने” जस्ता “समाचार”  परनियन्त्रित विवेकहीन सञ्चारमाध्यमबाट प्रचार गरेर कृषक र कृषिलाई होच्याएर अरु पेशाभन्दा निम्न स्तरको हो भनेर देखाउँन खोज्दा पनि सामान्य जस्तो ठान्ने समाज  बनाइसकिएकोले सचेत हुनै पर्ने देखिञ्छ । 
  
स्वतन्त्र रहन चाहनु स्वाभाविक मानवीय गुण हो । प्रकृतिसित घुलमिल भएर जीवनको आनन्द लिन मन पराउनु हाम्रो वास्तविक स्वभाव हो। जति सुविधा दिए पनि जेलजस्तो कुनै घेरा वा नियन्त्रणमा रहेर बस्न मन नपर्नु स्वतन्त्रता हाम्रो वास्तविक स्वभाव भएको कारणले नै हो। सनातन परम्परामा हाम्रो अन्तिम लक्ष्य मोक्षका निम्ति आत्मज्ञानको आवश्यकता र आत्मज्ञानको लागि एउटा मुख्य पूर्वावश्यकता स्वतन्त्रता हो भनेर बताइएको छ। भौतिक विकासको क्षणिक आकर्षण तथा व्यापारिक नियन्त्रण जताततै बढ्दै जाँदा स्वतन्त्रताभन्दा भौतिक साधन तथा देखावटी कुराहरुको भरमा पर्नुले नै सुख दिनसक्छ, सुविधाका लागि जतिसुकै नियन्त्रित नै भएर बाँच्न किन नपरोस् भन्ने कुरा व्यावसायिक उन्नति, प्रगति सफलता जस्ता शब्दजालमा बुनेर प्रचार भैरहेको देखिञ्छ। प्राकृतिक वस्तुसित टाढा बनाएर कृत्रिम वस्तुहरुको भरमा नै स्वास्थ्य र सुख मिल्छ भन्ने धारणा बलीयो बनाउन शिक्षा तथा सञ्चार माध्यमको व्यापक प्रयोग भैरहेको कुरा पनि बुझ्न कठिन छैन । 

 

परनिर्भर वा परतन्त्र भएर भए पनि एक छिनको सजिलो वा सुविधालाई नै प्राथमिकता दिनुपर्छ भनेर ठान्नु इनै विविध दुष्प्रचारका परिणाम हुन् । यस अवस्थामा स्वतन्त्र रूपमा विचार गर्न र बाँच्न किन आवश्यक छ भन्ने कुरा बुझ्न कठिन बन्दै गरेको कुरो बहुसङ्ख्यक युवाहरु स्वतन्त्रता भनेको उच्छृङ्खलताको रूपमा लिने तर स्वावलम्बन नै स्वतन्त्रताको मूल मार्ग हो भनेर बुझ्न नसक्ने स्थितिमा पुगेकोबाट आकलन गर्न सकिञ्छ।   आफ्नो विचार तथा जीवन आफ्नै हातमा रहोस् भनेर आफ्नो प्राकृतिक स्वभाव गुमाउन नचाहनेहरुका निम्ति यो अवस्था असहज तथा असह्य हो । 

 

वैज्ञानिक आविष्कारहरुले दिएको सुविधाले र तिनैको प्रयोग गरेर गरिने सुनियोजित प्रचार प्रसारले गर्दा प्रविधिको दुरुपयोग कसरी मानवमाथि विविध किसिमले नियन्त्रणका लागि गरिँदै छ भन्ने कुरामा हाम्रो कम ध्यान गएको देखिएको छ। हाम्रो खाद्यान्न स्वास्थ्य, धन तथा विचारमा नै नियन्त्रण गर्ने कार्यमा प्रविधिको दुरुपयोग भैरहेको र तिनलाई झन् बढाउँदै जान खोजिएकोमा हामी सचेत हुन अत्यन्त आवश्यक छ। स्वास्थ्य जोगाउनमा सचेत सबैका निम्ति सही सूचना खोज्न कठिन बनाउने कार्य अत्यन्तै व्यापक भएको कुरा स्वास्थ्य अनुसन्धानको क्षेत्रमा लामो अनुभव भएका स्वतन्त्र चिकित्सक तथा वैज्ञानिकहरुले भन्दै आए पनि ती कुरा व्यापक रूपमा नजाउन् भनेर व्यापारिक नियन्त्रणमा निरन्तर कार्य भैरहेको छ । 

 

आफ्नो समय र परिश्रम लगाएर खोजिपस्ने चिकित्सक वा अन्य अध्ययनशील व्यक्तिले मात्र कसरी वास्तविक अनुसन्धान दबाइँदो रहेछ र प्रायोजित कुराहरुलाई नै सुरक्षित लाभदायी भनेर प्रचार गरिँदो रहेछ तथा पाठ्यपुस्तकमा व्यापारिक कुरालाई नै प्राथमिकता दिइँदो रहेछ भनेर थाहा पाउनसक्ने अवस्था रहेको छ। यान्त्रिक बौद्धिकता (Artificial intelligence) का सजिलोको लोभमा तिनैमा निर्भर बनाएर तिनै मानवमाथि विविध किसिमले नियन्त्रण गर्न खोज्नेहरुले प्रचार गर्न खोजेका कुरा नै हामीसम्म आउने हो भनेर युवापुस्ताले बुझ्न नसक्ने बनाउन खोजिएकाले प्रविधिको प्रयोग झन् क्षतितिर उन्मुख भएको छ।  
       

स्वास्थ्यका विषयमा सत्य तथ्य कुरालाई रोकेर दबाएर अनि त्रास फैलाएर ठुलो क्षति पु-याइएको कुरा कथित महामारीका नाममा भएका स्वास्थ्य जोगाउने भन्दै गराइएका अमानवीय क्रियाकलापको राम्ररी अवलोकन गरेका विचारशील व्यक्तिहरुले बुझीसकेको कुरा हो। यस विषयमा दिनदिनै नयाँ तथ्य बाहिर आइरहेका छन् । विचार तथा अभिव्यक्तिको तथा आफ्नो शरीर कसरी स्वस्थ राख्न भनेर व्यक्तिले निर्णय गर्न पाउने मौलिक स्वतन्त्रताको कडा रूपमा हनन गर्ने र जनधनको व्यापक क्षति गराउने कार्य पनि महामारीको नाममा गरिएको कुराबाट आफ्ना स्वास्थ्य तथा स्वतन्त्रता जोगाउनका लागि हाहामा नलागी राम्ररी वास्तविक कुरा खोजिपस्ने कुरामा  जनजागरण ल्याउनु किन आवश्यक छ भनेर बुझ्न सजिलो हुञ्छ। औद्योगिक हानिकारक प्रशोधित तेल नै लाभदायक भन्ने पारेर शुद्ध घिउ बेचेर तेल खान लगाउने गरेका कुरालाई एउटा टड्कारो उदाहरणका रूपमा लिन सकिञ्छ।

 

कृषि तथा पशुपालनबाट प्राप्त आफ्ना  उत्पादनको साटासाट गरेर तथा सुन चाँदि जस्ता भौतिक वास्तविक धनको प्रयोग हाम्रा पुर्खाहरुले आफ्नो जीवन चलाएका थिए जस्मा कसैको प्रत्यक्ष नियन्त्रण रहन सक्तैनथियो। आफ्नो खाद्यवस्तु आँफै उत्पाउन गर्नु, आफ्ना स्थानीय औषधिमुलो चिनेर प्रयोग गर्न जान्नु, आफ्ना स्थानीय मौलिक प्रविधि तथा स्थानीय बिउबिजन तथा पशुका स्थानीय जात जोगाउनु स्वतन्त्रताको रक्षाका निम्ति आवश्यक छ र स्वतन्त्रता मोलतोल हुन नसक्ने कुरा हो भनेर बालबालिकादेखि नै सिक्ने सिकाउने कार्यको लागि अभियान सञ्चालनको कार्य समाजसेवी, परोपकारी बौद्धिक सबै खालका सचेत व्यक्तिको प्राथमिकतामा पर्नुपर्ने देखिञ्छ। गाइभैंसी भेडाबाख्रा जस्ता पशुहरु पालेर तिनको नजीक  रहनु मन र शरीर दुवैको  स्वास्थ्यका लागि पनि अत्यन्त लाभदायक छ भनेर अब बिस्तारै बुझ्न थालेका पनि छन् ।  

 

पहिलेपहिले स्थानीय उत्पादनबाट दैनिक जीवनमा आवश्यक सबैजसो कुराको परिपूर्ति हुने गरेको हाम्रो स्वावलम्बी समाजमा अत्यन्त द्रुत गतिमा परनिर्भरता बढ्दै गएको छ। हाम्रा बिउबिजन तथा स्थानीय पशुका जाति बिस्तारै नष्ट गरिँदै आयातित हानिकारक रूपमा परिवर्तित बिउबिजनकै र उन्नत जात भन्दै हानिकारक खच्चड जातिका पशुमा परिवर्तित हुने स्थिति बनाइएको, हाम्रा मौलिक कृषिका पद्धति अनि उपचारपद्धतिभन्दा जे जस्ता भए पनि जुनसुकै किसिमका आयातित पद्धति नै उत्कृष्ट भनेर सिकाइएको परिस्थितिमा यो हाम्रो वास्तविक उन्नति हैन ठुलो क्षति हो र वास्तविक दीगो विकास भनेको सबै किसिमले परनिर्भरता घटाउनु हो, हानिकारक कुराबाट बच्न सिक्नु सिकाउनु हो भन्ने चेतना नै यो समस्याको उपचारमा पैलो खुड्किलो हो । अतः  खाद्यान्न उत्पादनको अनि शरीर, धन र मनमाथिको स्वतन्त्रताविना हाम्रो स्वास्थ्य तथा वास्तविक सुख शान्ति र समृद्धि सम्भव छैन, आध्यात्मिक उन्नति त झन् परको कुरा हुन जाञ्‍छ भन्ने कुरा बुझ्नु बुझाउनुमा नै हाम्रो कल्याण छ।  

 

कृषक सबैका अन्नदाता हुन् र अरु सबै कार्य गर्नेहरुका निम्ति नभै नहुने आधार हुन् । यो कुरो बुझेर तदनुसार कार्यगर्नुभन्दा ठग्नका लागि कुनै काम सानो छैन भन्दै वास्तवमा  कृषक र कृषिकार्यलाई हेय बनाउने र कृषिकार्य गर्नु निम्नस्तरको अरु कार्य गर्न नसक्नेले गर्ने कार्य हो भन्ने कुरा स्थापित गर्न खोज्ने परनियन्त्रित शासन व्यवस्था, कुशिक्षा र अन्य तिनका समर्थकबाट बच्न सकेमा मात्र हाम्रो वर्तमान र भविष्य सुरक्षित हुनसक्छ।  कृषक सुखी भए मात्र जनता सुखी हुनसक्छन् । 
 
वेदमूलमिदं ज्ञानं भार्यामूलमिदं गृहम् ।
कृषिमूलमिदं धान्यं धनमूलमिदं जगत् ॥
सबै ज्ञानको स्रोत वेद हो, धर्मपत्नी नै घर समृद्ध हुनु वा घर सुखशान्तिसित रहनुको कारण हुन्, सबै खाद्यान्न, अन्नपातको स्रोत खेतिपाति हो र संसार चलाउने मूल  धनधान्य हो।

 

पृथिव्यां त्रीणि रत्नानि जलमन्नं सुभाषितम्।  
मूढैः पाषाणखण्डेषु रत्नसञ्ज्ञा विधीयते।।
यो संसारमा पानी अन्न र सुभाषित ( हितकारी वचन) ई ३ रत्न छन्। मूर्खहरु ढुङ्गाका टुक्रालाई रत्न भञ्छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप लेखहरु